हरिशयनी एकादशी : भक्ति, साधना र पर्यावरण रक्षा | Harishayani Ekadashi
Автор: Swasti Panthaa
Загружено: 2025-07-06
Просмотров: 120
देवशयनी एकादशी
हामीले अघि जेठ महिनाको निर्जला एकादशीका दिन छरेका तुलसीका साना–साना दलले अब बिरुवाको रूप पाइसकेको छन् । आज तिनै बिरुवालाई विधिवत् रूपमा घर–आगनको तुलसी मठमा रोपण गरिन्छ । अनि हाम्रो मन सङ्कल्पित हुन्छ आगामी चार महिना नियमपूर्वक तुलसी मठमा स्थापित गरिएकी तुलसी महारानीको सेवा गर्न । हो, आज आषाढी एकादशी । हरिशयनी, देवशयनी आदि नामले पनि चर्चित यस तिथिलाई नेपाली जनमानसमा ठूली एकादशी पनि भन्ने गरिन्छ । एकादशी भगवान् श्रीहरिको सर्वप्रिय तिथि भएकाले यस दिन भगवान् नारायणको पूजा–आराधना गरिन्छ ।
देवशयनी एकादशी र चतुर्मासको रहस्य
'देवशयनी' भन्नाले भगवान्को शयनकालको प्रारम्भ भन्ने बुझिन्छ। यसै दिनदेखि चतुर्मास पनि सुरु हुन्छ। पौराणिक मान्यताअनुसार, आजदेखि देवताहरू चार महिनासम्म विश्राम गर्नुहुन्छ। विशेषगरी भगवान् विष्णु यस अवधिमा पाताल लोकमा राजा बलिको द्वारमा निवास गर्नुहुन्छ र कार्तिक शुक्लपक्षको प्रबोधिनी एकादशीमा फर्कनुहुन्छ भन्ने विश्वास छ।
यहाँ प्रश्न उठ्न सक्छ, के देवताहरू साँच्चै नै सुत्नुहुन्छ त? यस पक्षलाई बुझ्न पौराणिक तथा वैज्ञानिक दुवै दृष्टिकोणबाट हेर्न सकिन्छ।
भविष्य पुराण, पद्म पुराण र श्रीमद्भागवत पुराण अनुसार, हरिशयनलाई योगनिद्रा भनिएको छ। संस्कृतमा 'हरि' शब्द सूर्य, चन्द्रमा, वायु, विष्णु आदिको अर्थमा प्रयोग हुन्छ। यसैले, हरिशयनको तात्पर्य यी चार महिनामा बादल र वर्षाका कारण सूर्य–चन्द्रमाको तेज कम हुनुलाई उनीहरूको शयनको अर्थमा लिइएको हुन सक्छ।
वैज्ञानिक तथा आयुर्वेदिक दृष्टिकोणले हेर्दा:
पाचन अग्निमा प्रभाव: वर्षा ऋतुमा वातावरणमा आद्रता (ओसिलोपन) बढ्छ र सूर्यको प्रकाश कम हुन्छ। यसले शरीरको पाचन अग्नि (मेटाबोलिज्म) कमजोर बनाउँछ। आयुर्वेदअनुसार, पित्त पाचनसँग सम्बन्धित हुने हुँदा, चिसो र ओसिलो मौसममा शरीरको अग्नि कमजोर भई पाचन प्रक्रिया सुस्त हुन्छ। यसैले, यस समयमा गरिष्ठ तथा पचाउन गाह्रो हुने खाना नखान सल्लाह दिइन्छ। शरीरको ऊर्जा स्तर कम हुनुलाई 'शक्ति क्षीण' वा 'सुप्त अवस्था' भनिएको हुन सक्छ।
रोगका जीवाणुको वृद्धि: आधुनिक वैज्ञानिकहरूले पनि चातुर्मासमा (मुख्यतः वर्षा ऋतुमा) विभिन्न प्रकारका कीटाणु तथा सूक्ष्म रोगका जीवाणुहरू (ब्याक्टेरिया, ढुसी) उत्पन्न हुने कुरा पत्ता लगाएका छन्। यसको मुख्य कारण जलको अधिकता र सूर्यको प्रकाश धर्तीमा कम मात्रामा पुग्नु हो।
स्वास्थ्य समस्या: वर्षाको पानीले नदी, ताल, पोखरीमा प्रदूषण बढाउँछ। पानी जम्ने ठाउँमा लामखुट्टे, भुसुना आदिको प्रजनन भई मलेरिया, डेंगु, चिकनगुनियाजस्ता रोग फैलिन्छन्। दूषित पानीबाट हैजा, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता पानीजन्य रोगको जोखिम बढ्छ। ओसिलोपनले ब्याक्टेरिया र ढुसीलाई फैलिन मद्दत गरी छालासम्बन्धी संक्रमण पनि बढी देखिन्छ।
वर्षा ऋतु सुरु हुनेबित्तिकै पञ्चतत्वहरू (पृथ्वी, जल, अग्नि, वायु, आकाश) को स्वभाव परिवर्तन हुन्छ:
पृथ्वी: अनेक वनस्पति उम्रन्छन् र बाटो अवरुद्ध हुन्छन्। विषालु जीवहरू बाहिर आउँछन्।
अग्नि: कमजोर हुन्छ, खुला ठाउँमा हवन आदि गर्न कठिन हुन्छ।
जल: वर्षाको पानीले दूषित हुन्छ।
वायु: हावामा ओसिलोपन बढ्छ।
आकाश: बादल लाग्दा घाम धर्तीसम्म पुग्दैन।
यी सबै परिवर्तनले मानव शरीरमा पनि प्रभाव पार्छ। बाहिरको अग्नि मन्द भएझैँ शरीरको पाचन क्षमता पनि कमजोर हुन्छ।
यी सबै कुरालाई ध्यानमा राखी हाम्रा पूर्वजहरूले देवशयनी एकादशीदेखि देवउठनी एकादशी (शरद ऋतु) सम्मको अवधिलाई चातुर्मास मानी 'देवता विश्राम काल' घोषणा गरेका थिए। यस अवधिमा लामो यात्राहरू, विवाह, उपनयन, गृहप्रवेशजस्ता सामाजिक तथा विशेष मांगलिक कार्यक्रमहरूमा धार्मिक रोक लगाइएको थियो। भारतवर्षको समाजधर्म-प्रधान समाज भएकाले पर्यावरणको यो विज्ञानलाई पनि धर्मको आधारमा नै बुझाइएको देखिन्छ।
आधुनिक सन्दर्भ र हाम्रो दायित्व
आजको परिस्थिति पहिले जस्तो छैन। मानिसको व्यावसायिक आवश्यकताले यात्रा गर्नुपर्ने हुन्छ नै। यद्यपि, हामीले यस समयमा पञ्चतत्वहरूको रक्षाका लागि केही न केही सङ्कल्प लिनुपर्छ: पर्यावरण रक्षाको सङ्कल्पलाई फेरि स्मरण गर्ने दिवस पनि हो। त्यसैले,
बिरुवा रोपौँ र पानी बचाऔँ।
नदी, पहाड, जलस्रोत, जंगलको रक्षा गरौँ।
धर्ती, जल, आकाश, वायुलाई प्रदूषित हुनबाट बचाऔँ।
यही नै सुतेका देवताहरूको रक्षा गर्नु हो र हाम्रो सामाजिक एवं नैतिक दायित्व पनि हो।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: